Rule 65
अनिवार्य अवकाश
: (१) देहायका सशस्त्र प्रहरी कर्मचारीले देहाय बमोजिमको कुनै एक आधारमा सशस्त्र प्रहरी सेवाबाट अनिवार्य अवकाश पाउनेछन् :–
(क)   सशस्त्र प्रहरी कर्मचारीको सेवा अवधि तीस वर्ष पुरा भएमा ।
(ख)   देहायको पदमा बहाल रहेको सशस्त्र प्रहरी कर्मचारीको देहाय बमोजिम उमेर पुरा भएमा :–
(१)   सशस्त्र प्रहरी महानिरीक्षक                  – अन्ठाउन्न वर्ष
(२)   सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक र
      सशस्त्र प्रहरी नायब महानिरीक्षक             – छपन्न वर्ष
(३)   सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक र
      सशस्त्र प्रहरी उपरीक्षक                         – पचपन्न वर्ष
(४)   सशस्त्र प्रहरी नायब उपरीक्षक               – चौवन्न वर्ष
(५)   सशस्त्र प्रहरी निरीक्षक                         – त्रिपन्न वर्ष
(६)   सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षक र
      सशस्त्र प्रहरी नायब निरीक्षक                     – बाउन्न वर्ष
(७)   सशस्त्र प्रहरी सहायक निरीक्षक             – एकाउन्न वर्ष
(८)   सशस्त्र प्रहरी वरिष्ठ हवल्दार, सशस्त्र प्रहरी
      हवल्दार, सशस्त्र प्रहरी सहायक हवल्दार र
      सशस्त्र प्रहरी जवान                      – पचास वर्ष
(९)   सशस्त्र प्रहरी परिचर वा सो सरह             – पचपन्न वर्ष
(ग)  देहायको पदमा बहाल रहेको सशस्त्र प्रहरी कर्मचारी त्यस्तो पदमा देहायको अवधिसम्म बहाल रहेमा :–
(१)   सशस्त्र प्रहरी महानिरीक्षक                        – चार वर्ष
(२)   सशस्त्र प्रहरी अतिरिक्त र सशस्त्र प्रहरी नायब महानिरीक्षक          – चार वर्ष
(३)   सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक                        – सात वर्ष
(४)  सशस्त्र प्रहरी उपरीक्षक                               – दस वर्ष
      (२) उपनियम (१) को खण्ड (ग) को उपखण्ड (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि सशस्त्र प्रहरी महानिरीक्षकको सिफारिसमा नेपाल सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक र सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बहाल रहेका सशस्त्र प्रहरी अधिकृतको पदावधि एक वर्ष थप गर्न सक्नेछ ।
(३) उपनियम (१) को खण्ड (ग) को उपखण्ड (२) र उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि यो नियमावली प्रारम्भ हुँदाका बखत सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक र सशस्त्र प्रहरी नायब महानिरिक्षक पदमा बहाल रहेका सशस्त्र प्रहरी कर्मचारी सो पदमा पाँच वर्ष सम्म बहाल रहेमा अवकाश पाउनेछन् ।
(४) यस नियमको प्रयोजनका निमित्त प्रहरी कर्मचारीको उमेरको हिसाब गर्दा देहाय बमोजिम गरिनेछ:–
(क)   सेवामा प्रवेश गर्दा निजले पेश गरेको नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र वैयक्तिक विवरण (सिटरोल) मा उल्लिखित जन्ममिति मध्ये जुन मितिका आधारमा सबै भन्दा पहिले अवकाश हुने हो सोही मितिका आधारमा,
(ख)   वर्ष वा संवत् मात्र उल्लेख भएको प्रमाणपत्रका आधारमा जन्ममिति कायम गर्दा नागरिकताको प्रमाणपत्रको हकमा प्रमाणपत्र प्राप्त गरेको मिति, शैक्षिक योग्यताको प्रमाणपत्रको हकमा प्रमाणपत्र जारी भएको मिति र वैयक्तिक विवरण (सिटरोल) को हकमा सुरु भर्ना भएको मितिको आधारमा,
(ग)   खण्ड (क) बमोजिमका कुनै प्रमाणपत्रमा वर्षमात्र उल्लेख भएको र अर्को प्रमाणपत्रमा पूरा जन्ममिति खुलेको रहेछ र त्यस्तो प्रमाणपत्रमा उल्लिखित जन्ममितिहरूको बीचमा एक वर्षसम्मको अन्तर देखिएमा पूरा खुलेको जन्ममितिको आधारमा ।
      तर यसरी छुट्टाछुट्टै प्रमाणपत्रमा उल्लेख भएको जन्ममितिको अन्तर एक वर्षभन्दा बढी भएमा खण्ड (ख) बमोजिम कायम भएको जन्ममिति मध्ये जुन मितिको आधारमा सबैभन्दा पहिले अवकाश हुने हो सोही मितिका आधारमा ।
(५) संवत् २०६५ साल चैत ३१ गते भन्दा अघि देखि सशस्त्र प्रहरी सेवामा बहाल रहेको सशस्त्र प्रहरी कर्मचारीले उपनियम (१) को खण्ड (क) बमोजिम सेवा अवधि पूरा भएका कारण अवकाश प्राप्त गरेमा सोही उपनियमको खण्ड (ख) बमोजिम अवकाश प्राप्त गर्न जति उमेर बाँकी रहेको छ, सो अवधि समेत निजले गरेको नोकरी अवधिमा थप गरी निजले पाउने निवृत्तिभरणको हिसाब गरिनेछ ।